सभामुख /उपसभामुख



नेपालको संविधानको धारा १७५ अनुसार प्रदेश नं. तीनको प्रदेश सभा गठन भएको हो । यस प्रदेश सभामा सम्वन्धित प्रदेशवाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य ६६ जना र सो ६६ जनालाई ६० प्रतिशत मानी वाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीवाट निर्वाचित हुने ४४ जना गरी कूल ११० जना सदस्यहरु हुने व्यवस्था छ । नेपाल सरकारले प्रदेश नं. ३ को अस्थायी राजधानी हेटौंडा तोकेकोले सभाको सचिवालय हाल हेटौंडामा अवस्थित छ । २०७४ साल मंसिर १० र २१ गते भएको प्रदेश सभाको निर्वाचनवाट निर्वाचित प्रदेश सभाका सदस्यहरुको सपथग्रहण २०७४ माघ ७ गते भएको थियो । माननीय प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आव्हान गर्नु भए अनुसार २०७४ माघ १८ गते प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक ज्येष्ठ सदस्य माननीय डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो भने मिति २०७४ माघ २७ गते माननीय सानु कुमार श्रेष्ठ प्रदेश सभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएको थियो । त्यसै गरी माननीय राधिका तामाङ्ग प्रदेश सभाको उपसभामुख पदमा मिति २०७४ माघ २८ गते निर्विरोध निर्वाचित हुनु भएको थियो ।
सभाको मिति २०७४ फागुन १४ गतेको बैठकवाट प्रदेश सभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरुको गठन, काम, कारवाही र समिति सम्वन्धी अन्य विषय नियमित गर्नको लागि संविधानको धारा १९४ अनुसार प्रदेश सभा नियमावली, २०७४ बनाएको छ र सोही नियमावली अनुसार प्रदेश सभा संचालन भईरहेको छ ।